महासमितिपछि कांग्रेससँगका अपेक्षा

महासमितिपछि कांग्रेससँगका अपेक्षा

कांग्रेसले देशमा लोकतान्त्रिक परिपाटीका लागि सात दशक लड्यो । तर, आज त्यही प्रणालीविरोधी दर्शन बोकेको कम्युनिस्ट पार्टी दुईतिहाइ शक्तिसाथ सरकारमा छ । कांग्रेस भने आन्तरिक किचलोमै अल्झिएको छ । यही परिवेशमा कांग्रेसलाई जीवन्तता दिने अपेक्षा गरिएको बहुप्रतीक्षित महासमिति बैठक सम्पन्न भयो । र, महासमितिको आदेश कार्यान्वयनको योजना बनाउन कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय समितिले हामी कहाँ चुक्यौँ भनेर गम्भीर समीक्षा गर्न आवश्यक छ र चार वर्षपछि आउने निर्वाचन हाम्रा लागि अन्तिम अवसर हो, त्यो निर्वाचनमार्फत कांग्रेसले आफ्नै बहुमतको सरकार निर्माण गर्न पार्टीलाई कसरी पुनर्जीवन दिने र परिचालन गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनुपर्छ ।

जनताको भरोसा बन्ने लक्ष्य 

सर्वप्रथम कांग्रेसले आफूलाई कसरी जनताको मुख्य भरोसा बनाउने, त्यो लक्ष्यका लागि छलफल गर्न आवश्यक छ । दुईतिहाइको कम्युनिस्ट शक्तिसँग प्रतिस्पर्धा गर्न सर्वप्रथम कांग्रेस मन, वचन र कर्मले एकढिक्का हुन आवश्यक छ । त्यसका लागि सम्पूर्ण पार्टीपंक्तिले हार्दिकतासहितको एकता र आत्मअनुशासनसहितको सहकार्यको मूलमन्त्रमा आफूलाई समाहित बनाउनुपर्छ ।
 
कृषिको आधुनिकीकरण र व्यवसायीकरण 

देशको मेरुदण्ड मानिने युवाले भोगिरहेको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । तत्काल बेरोजगारी समस्या समाधान गर्ने क्षेत्र कृषि मात्र हो । हाम्रो देशको हावापानीअनुसारको उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सकियो भने कृषिप्रधान देशको सार्थकतातिर हामी जान सक्छौँ । आजको दिनमा नेपालले करिब सात खर्बको खाद्यान्न आयात गरिरहेको छ । यो आयातमा हामी आत्मनिर्भर बन्न सके सात खर्बको बचत र ठूलो संख्यामा देशमै रोजगारी स्थापना हुनेछ । यसका लागि कांग्रेसले स्पष्ट योजना बनाएर जनसमर्थनका लागि देशव्यापी अभियान चलाउनुपर्छ ।   

पर्यटन विकासको योजना 

पर्यटन नेपालको ठूलो उद्योगका रूपमा विकास हुन सक्ने क्षेत्र हो । नेपालको प्राकृतिक सुन्दरता विश्वप्रसिद्ध छ । नेपालको ऐतिहासिक तथा धार्मिक सम्पदा अनि कला–संस्कृति पनि अत्यन्त मौलिक छन् । नेपालभित्रका यी सबै सम्पदाको पहिचान र प्रचारका लागि कांग्रेसले आफ्ना तर्फबाट योजनाबद्ध तरिकाले अभियान सञ्चालन गर्नुपर्छ । 

सीप विकास 

नेपालको दुर्गम एवं ग्रामीण क्षेत्रमा अत्यन्त गरिबी र अविकास छ । त्यहाँका ठूलो संख्याका जनतालाई जीवनयापनको समस्या छ । त्यो अवस्थाका जनतालाई माथि उठाउन र समान पहुँच दिलाउन नै कांग्रेसले लोकतन्त्रका लागि वकालत र संघर्ष गरेको हो । कांग्रेसले लोकतान्त्रिक समाजवाद त्यसैका लागि अंगीकार गरेको हो । 

जलस्रोतको विकास र औद्योगिकीकरण 

जलस्रोत नेपालको सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र हो । तर, स्पष्ट नीति नहुँदा कुहिराको कागजस्तो भएको छ, नेपालको विद्युत् विकास । संसार आविष्कारको शिखरमा चढिरहेको छ । यस क्रममा जलस्रोतबाट उत्पादन हुने विद्युत्भन्दा सस्तो र सुलभ वैकल्पिक उपाय आउन सक्छ, तसर्थ जनताले समेत मनग्य लाभ पाउने तरिकाले गहन छलफल गरेर विद्युत् विकासको स्पष्ट खाका कांग्रेसले कोर्न आवश्यक छ । 

महासमितिको आदेश कार्यान्वयनको योजना बनाउन सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले हामी कहाँकहाँ चुक्यौँ भनेर गम्भीर समीक्षा गर्न आवश्यक छ

सामाजिक आन्दोलन 

संसार विकास र सभ्यताको शिखरमा पुगेको आजको अवस्थामा पनि हाम्रो समाजमा पछौटेपन कायम छ । अहिले पनि हाम्रो समाजका कतिपय स्थानमा छुवाछुत, बोक्सी, छाउपडी, दाइजो जस्ता कुरीति विद्यमान छन् , यिनको अन्त्य गर्न पार्टीले आफ्ना भ्रातृ संस्था परिचालन गरेर जागरण अभियान सञ्चालन गर्नुपर्छ । जाँड, रक्सी र लागुपदार्थ प्रयोगले हाम्रा युवाशक्तिलाई ध्वस्त पारिरहेको छ । 
समाजमा गुन्डागर्दी, महिलाहिंसा र बलात्कारजस्ता जघन्य अपराध बढिरहेका छन्, यिनको निराकरणका लागि स्थानीय पार्टीपंक्तिसित मिलेर काम गर्न सक्छौँ । 

पार्टी परिचालनका लागि कोष निर्माण 

पार्टी परिचालनका लागि आर्थिक कोष अत्यन्त महत्वपूर्ण  विषय हो । जीवन्त पार्टीले यसको व्यवस्थापन गर्न आवश्यक छ । दुईतिहाइको शक्तिसहित सरकारको नेतृत्व गरिरहेको नेकपा आफ्नै अर्बौं आन्तरिक कोष जम्मा गरेको पार्टी हो । ऊसँग प्रतिस्पर्धा गर्न पार्टी तथा भ्रातृसंस्थाको संगठन परिचालनका लागि बलियो कोष आवश्यक छ, त्यसैले कांग्रेसको आगामी बैठकले केन्द्रदेखि प्रदेश, जिल्ला, पालिकादेखि वडा समिति र भ्रातृसंस्थासम्म परिचालनका लागि पारदर्शी रूपले पार्टी सदस्य र शुभचिन्तकबाट नियमित रूपले पार्टीका लागि अर्थ संकलन गर्ने नीति लागू गर्नु आवश्यक छ । 

पार्टी सुदृढीकरण र परिचालन 

वर्तमान अवस्थामा महासमितिको बैठकपछि कांग्रेससँग ‘नेपालको लोकतान्त्रिक परिपाटीलाई अक्षुण्ण राख्दै देशको विकासण् र समृद्धिको नेतृत्व आफैँले गर्नु आफ्नै अस्तित्वका लागिसमेत अपरिहार्य छ । कांग्रेसको बहुमतको सरकार निर्माणका लागि पार्टी गतिशील र अनुशासित हुन आवश्यक छ । अहिले कांग्रेसभित्र चरम अराजकता छाएको छ, आफ्नै सभापतिलाई केन्द्रीय सदस्य तथा पदाधिकारी र नेताहरूले गाली गर्दै हिँड्नु कसरी कांग्रेसको पक्षमा हुन सक्छ ? कांग्रेसलाई जनताबीच नंग्याउन प्रतिपक्षीको आवश्यकता नै छैन, आफ्नै नेता–कार्यकर्ता काफी छन् । नेता त्यसरी हिँडेपछि कार्यकर्ताले के सिक्ने ? आफ्नै नेतालाई आफ्नै कार्यकर्ताले गाली गर्दै हिँडेपछि जनताले कांग्रेसलाई कसरी विश्वास गर्ने ? किन मान्ने ? यो बडो विचारणीय विषय छ । यसको निदान आवश्यक छ । कांग्रेस अहिले अत्यन्त बूढो, जीर्ण र रोगी शरीरजस्तो भएको छ । दुईतिहाइको शक्ति र अधिनायकवादी आकांक्षालाई परास्त गर्ने हो भने अब कांग्रेसमा यौवन भर्न आवश्यक छ । त्यसका लागि फेरि दोहो¥याउन चाहेँ– हार्दिकतासहितको एकता र आत्मअनुशासनसहितको सहकार्यबोध जरुरी छ ।

(लेखक नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन्) 

०७५ माघ ११ शुक्रबार ०७:१६:०० नया पत्रिका दैनिक

प्रतिक्रिया

थप पढनुहोस

Facebook

Follow me on Facebook Page

Twitter

Follow me on Twitter

Youtube

Follow me on Youtube