‘पुरानो’ पार्टीमा चाहिएको ‘नयाँ’ शैली

‘पुरानो’ पार्टीमा चाहिएको ‘नयाँ’ शैली

कार्तिक ४, २०७३- केही अघि हालका एक मन्त्रीले एउटा लिखित अन्तर्वार्तामा भनेका छन्, ‘कम्युनिस्टलाई रोप्नुपर्छ, कांग्रेस आफैं उम्रिन्छ ।’ सोचेको थिएँ, आफूलाई रोपिएको भनाउने मन्त्रीले भनेका कुराबारे आफैं उम्रिएका हामीबाट छलफल र बहस होला । तर यसबारे कतैबाट तर्क/वितर्क भएको सुनिएन । बरु हाम्रै नेताले उक्त अन्तर्वार्ता ‘सेयर’ र ‘रिट्विट’ गरेको भेट्टाएँ ।

कांग्रेस आफैं उम्रिन्छन् भन्नुको अर्थ राणाकालदेखि बीपी, सुवर्ण, गणेशमान हुँदै देउवासम्मले गरेका खनजोत र गोडमेलको अपमान होइन ? के हामी आफैं उम्रिने वनमारा झार या जंगलका झाडी हौं र कम्युनिस्ट नर्सरीका बिरुवा हुन् ? २०६२/६३ सालको जनआन्दोलनलाई धेरैले दोस्रो जनआन्दोलन भनेको सुन्छु, म ।

२००७ सालको राणाविरोधी आन्दोलन र २०४६ सालको निर्दलीय पञ्चायती व्यवस्था ढाल्ने आन्दोलनको गणना नगरी २०६२/६३ सालको आन्दोलनलाई दोस्रो भन्नु इतिहासलाई अन्याय गर्नु हो । तर प्रसंग के हो भने नेपाली कांग्रेसले २००७, २०४६ र २०६२/६३ का तीनवटै जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको स्पष्ट छ । लोकतान्त्रीकरण, नागरिक अधिकार र स्वतन्त्रताका लागि कांग्रेसले प्रशस्त समय, श्रम र सीप खर्चेको छ ।

कांग्रेस पुरानो र ठूलो पार्टी हो । पार्टीका समर्थक र शुभेच्छुहरू देशैभरि छन् । पार्टीमा इमानदार कार्यकर्ताको खाँचो छैन । तर पुरानो दलको संरचना र कार्यशैली पनि पुरानै छ । ठूलो दलको व्यवस्थापन समस्या पनि ठूलै छ । कांग्रेस गुटबाट धेरै ग्रस्त छ । महाधिवेशनबाट जितहार भइसकेपछि पनि त्यो मानसिकता त्याग्न नसक्नु विडम्बना हो । लोकतान्त्रिक प्रणालीबाट विजयी भएका नेतृत्वलाई स्वविवेकपूर्ण तरिकाले काम गर्न नदिई भागबन्डा र घुर्की देखाउनु उचित होइन ।

कांग्रेस पुरानो पार्टी भएका नाताले लामो समय संघर्ष गरेका नेता धेरै छन् । नेता, कार्यकता धेरै हुनु समस्या होइन, अवसर मात्र पनि हैन, सुअवसर समेत हो । तर संख्यात्मक र गुणात्मक रूपमा यत्रा संख्या भएर पनि हामीले सही तरिकाले उपयोग, समन्वय र व्यवस्थापन गर्न नसक्नु विडम्बना हो । कांग्रेसको निर्णय प्रक्रिया अत्यन्त सुस्त र अस्तव्यस्त छ । 

पार्टीभित्र मूल्याङ्कन पद्धति र वितरण प्रणाली खोटपूर्ण छ । इमानदार र लगनशील कार्यकर्ता जिम्मेवारीविहीन हुनुपरेको छ । संगठन निर्माण र परिचालन गतिशील छैन । ढोके, बैठके र चाकडीबाजहरूको बोलवाला छ । यस्तो परम्पराले पार्टीको क्षय हुँदै गइरहेको छ । कांग्रेसलाई पुँजीवादी र आफूलाई समाजवादका प्रणेता भन्ने कम्युनिस्टहरू २० ६३ यतामात्र कतिपल्ट सरकारमा गए र कस्ता नीति ल्याए, छर्लंगै छैन र ? पहिलो संविधानसभा चुनावयता खिलराज रेग्मी सरकार र सुशील कोइराला बाहेक सबै सरकार कम्युनिस्ट नेतृत्वमै बनेका छन् । सरकार कम्युनिस्टले चलाइरहेको छ, तर गरिब र धनी, गाउँ र सहर बीचको खाडल बढ्दो छ । नागरिकका सामान्य आवश्कता पनि पुरा हुन नसकेको अवस्था छ ।

कांग्रेसलाई आधुनिक र गतिशील पार्टी बनाएर नेपाललाई विकास र समृद्धिको बाटोमा हिँडाउने संकल्प बोकेर कांग्रेसको संगठनमा आफ्नो जवानी लगानी गरेका कार्यकर्ताहरू निराश छन् । कांग्रेसको नर्सरी मानिएको नेपाल विद्यार्थी संघमा २०/२५ वर्ष लगानी गरेर खारिएका ५ दर्जन पूर्वकेन्द्रीय पदाधिकारी २० दर्जन पूर्वकेन्द्रीय सदस्य र कम्तीमा ५० दर्जन योग्य तर केन्द्रीय समिति स्थान पाउन नसकेका युवा कांग्रेसभित्र भूमिकाविहीन अवस्थामा छन् । यसैगरी हजारौं युवा आधुनिक र गतिशील कांग्रेसमार्फत समृद्ध र विकसित नेपालको सपना बोकेर क्रियाशील छन् । ती सपना पुरा गर्न कांग्रेसले २ वटा महत्त्वपूर्ण काम गर्न जरुरी छ : 

पाका र जेठा नेताहरूको पुरानो सोचले नयाँ पुस्ता र डिजिटल युगको भावनाको प्रतिनिधित्व गर्न सक्दैन । तीव्र गतिले प्रविधीकरण भइरहेको समाजको नेतृत्व गर्न कांग्रेसलाई आधुनिक र गतिशील बनाउन आवश्यक छ । त्यसका लागि कांग्रेसले पार्टीभित्र मूल्याङ्कन, अवसर र सहभागिता प्रणालीलाई पारदर्शी र न्यायसम्मत बनाउन आवश्यक छ ।

पार्टी भित्रको समावेशी र समानुपातिक व्यवस्थालाई विधिसम्मत बनाउनुपर्छ । सम्पूर्ण भ्रातृ संस्थाहरूको महाधिवेशनपछि पार्टीले अहिलेको नयाँ पुस्ता, डिजिटल युग र सम्पूर्ण नेपालको भावना र आशालाई पुरा गर्ने शिक्षा, विकास, रोजगारी, कृषि, पर्यटन र व्यापारको विकास र विस्तारको नीति तर्जुमा गर्न आवश्यक छ । जनताले अपेक्षा गरेको विकास र समृद्धिको सबैभन्दा ठूलो बाधकको रूपमा अस्थिर सरकार रहेको छ । पार्टी—पार्टीहरू बीचको झगडा र अन्तरपार्टी झगडाले अस्थिर सरकार निर्माणलाई मलजल गरिरहेको छ । राजनीतिको मूल गन्तव्य जनताको हित हुनुपर्नेमा राजनीतिक खिचातानी र झगडाचाहिँ गन्तव्य बन्न पुगेको छ । 

छोटो समयमा स्थानीय, प्रादेशिक र आम निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ । यी सबै तहमा कांग्रेसले बहुमतको सरकार निर्माण गर्ने र विकास र समृद्धिको अगुवाइ गर्नुपर्ने चुनौतीपूर्ण अवस्थामा पार्टी रहेको छ । जहिले पनि सत्ताको खिचातानी र लुछाचँुडी अब देशलाई स्वीकार्य छैन । युद्धस्तरमा विकास र समृद्धिको एजेन्डा कार्यान्वयनमा कांग्रेसले आफूलाई होम्न आवश्यक छ ।

निर्वाचित नेतृत्वलाई सफल बनाउनु भनेको पार्टीलाई सफल बनाउनु हो भन्ने हेक्का प्रतिस्पर्धीहरूले लिन जरुरी छ । डुंगा प्वाल पारेर, खिचातानी गरेर आफूचाहिँं कसरी जोगिने हो र ? चालकको हात बाँधेर उही बसमा सुरक्षित यात्रा गर्न सकिन्छ र ? पार्टीमा असल कर्म गरेपछि महाधिवेशनद्वारा जो पनि चालक बन्नसक्ने सुविधा त जोकोहीलाई छ । त्यसैले सबै एकताबद्ध भई पार्टीलाई सशक्त र प्रभावकारी, आधुनिक र गतिशील बनाउन जरुरी छ ।

शाह नेविसंघका पूर्व उपाध्यक्ष हुन् । 

प्रतिक्रिया

थप पढनुहोस

Facebook

Follow me on Facebook Page

Twitter

Follow me on Twitter

Youtube

Follow me on Youtube